Breaking News

पटके कर फिर्ता नलिए आन्दोलनमा उत्रिने खानेपानी व्यवसायीहरूको चेतावनी

काठमाण्डौ, ४ भदौ । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले आफूहरूसंग पटके कर उठाइएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरूले पानी ट्यांकरहरूमा ठेकेदारीमार्फत अव्यवहारिक तरिकाले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवम् संघर्ष समितिका संयोजक उज्वल शाक्यले स्थानीय सरकारले मनोमानी ढंगले पानी ट्याङकरमा पटके कर लगाएको भन्दै विरोध गरे । स्थानीय सरकारले एकाङ्की रूपमा पानीजस्तो संवेदनशील वस्तुमा कर लागाउने काम भएको उनको भनाइ छ ।

सरकारले जनताको हितमा काम गर्नुको साटो उल्टै दोहोरो कर लगाएर जनताको दैनिकीमा असहजता सिर्जना गर्ने काम गरेको भन्दै आफूहरूलाई स्वीकार्य नभएको उनले बताए । त्यस्तै कार्यक्रममा पानी ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष उपेन्द्र पाठकले दैनिक उपभोग्य तथा संवेदनशील वस्तुहरूमा सरकारले कर लगाएर गल्ती गरेको बताए ।

संघर्ष समितिमा खानेपानी उद्यमी तथा व्यवसायी संघ, उपत्यका खानेपानी श्रोत तथा ट्यांकर व्यवसायी संघ, पानी ट्यांकर तथा श्रोत व्यवसायी संघ, उपत्यका खानेपानी बोरिङ संघ, नेपाल पानी ट्यांकर तथा श्रोत व्यवसायी संघ र नेपाल बोटल वाटर उद्योग संघ लगायत सहभागी छन् ।

shares