Breaking News

सभामुख महराद्वारा क्रिकेट खेलाडीलार्इ बिदार्इ

काठमाण्डौ, ४ भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरेका छन् ।

सभामुख महराले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर बिदाई गरेका हुन् । त्यस अवसरमा सभामुख महराले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरुलाई अग्रिम शुभकामना दिए ।

यता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनौट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले क्रिकेट खेललाई अझै सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यानाकर्षण गराए ।

टोली मलेसिया प्रस्थान गर्नुअघि अभ्यास खेलका लागि सोमबार अपरान्ह श्रीलंका प्रस्थान गर्दैछ । नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन् । त्यसैगरी सागर पुन, संदिप लामिछाने, सोमपाल कामी र सुभाष खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा भदौ १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र यूएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष यूएईमा हुने एसिया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

shares