Breaking News

बाढी पहिरो पीडित र विस्थापितप्रति सरकारको ध्यानाकर्षण

काठमाण्डौ, ४ भदौ । राष्ट्रियसभा सदस्यहरूले मुलुकका विभिन्न स्थानका बाढी पहिरो पीडितलाई तत्काल राहत र विस्थापित परिवारलाई पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनीहरूले मुलुकका विभिन्न स्थानमा वर्षासंगैको बाढी पहिरोका कारण ठूलो धनमालको क्षति हुनुको साथै केहीले ज्यान गुमाएको र कयौं विस्थापित भएकाले तत्काल सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुरा जिल्ला विभिन्न स्थानमा बाढी र पहिरोका कारण केहीको मृत्यु भएको र कयौं परिवार विस्थापित भएको भन्दै पीडितलाई राहत र विस्थापितको पुर्नस्थापनामा सरोकारवाला निकायले चासो नदिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । प्रदेश, संघ र स्थानीय तहबीच समन्वय हुन नसक्दा पीडितले राहत नपाएको र विस्थापितहरूलाई सुरक्षित आवासको व्यवस्था मिलाउन नसकिएको भन्दै सरोकारित निकायबीच समन्वय गर्न आग्रह गरे ।

राष्ट्रियसभा सदस्य सिंह बहादुर विश्वकर्माले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित साँधीखोला पुल बाढीले बगाउँदा नजिकका गाउँको सम्पर्क विच्छेद भएको भन्दै सो स्थानमा तुरुन्तै बेलीब्रिज पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य युटोल तामाङ्गले मुगुको आइतबार किमनी गाउँमा भीषण आगलागी भएको भन्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । उनले जिल्लामा आवश्यक सडक सुविधा पुर्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले खेती लगाउने समयमा तराईका किसानले युरिया, डिएपी लगायत मल उपलब्ध नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । किसानलाई सहज सिंचाई र ऋणको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

त्यसैगरी, खेमराज नेपाली प्रदेश नम्बर १ मोरङ्ग जिल्लाको लेटाङ्गस्थित एक स्कुलको पानी ट्यांकीमा विषादि मिसाउने अपराधीलाई तुरुन्तै पत्ता लगाई हदैसम्मको कारवाही गर्न माग गरे । घटना भएको लामो समय भइसक्दा पनि अपराधी पत्ता लगाउन नसकिएको भन्दै उनले छानविन र अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

shares