Breaking News

पूर्वराजदूत झाको रहस्यमय हत्या

काठमाण्डौ, ४ भदौ । पूर्वराजदूत केशव झाको अाफ्नै निवासमा हत्या भएको छ । ८० वर्षीय झा काठमाण्डौको बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले उनको टाउको र घाँटीमा चोट लागेको अवस्थामा झाको मृत शरीर भेट्टाएको जनाएको छ । धारिलो हतियारको प्रयोग गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र रहेका थिए भने छोरी घरमा नभएको र छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए । परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।

प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको विस्तृत अनुसन्धान सुरु गर्ने तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले बताए ।

shares