Breaking News

प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाण्डौ, ३ भदौ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई २०७५ भाद्र २४ गतेदेखि नै लागू हुनेगरी सेनाको महारथी पदमा पदोन्नति गरी प्रधानसेनापति पदमा नेपालको संविधानको २६७ को उपधारा ५ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले मौलिक हक सम्बन्धी विभिन्न तीन विधेयक सदनमा पेश गर्ने निर्णय पनि गरेको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट एकिकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम करिब १ अर्ब ६४ करोड स्वीकार गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले डाक्टर डिल्लीराज खनालको अध्यक्षतामा ५ सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने, पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा ऊर्जा मन्त्रालयका सहसचिव चिरज्जीवी चटौतलाई काज खटाउने निर्णय गरेको छ । त्यस्तै बिमेष्टेक बैठकमा हुने ग्रीड सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रमन्त्रीलाई अख्तियारी दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए ।

बैठकले अस्थायी तथा सेवा करार सम्झौता बमोजिमका जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरिएको छ भने यसको व्यवस्था सामान्य प्रशासन मन्त्रालयले मिलाउने निर्णय पनि गरेको छ ।

shares