Breaking News

सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले सफल: पाण्डे

काठमाण्डौ, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले ओली सरकारले सम्पूर्ण शक्ति मुलुक र जनताको विकास र समृद्धिको लागि लगाएको बताए । नेता पाण्डेले वर्तमान सरकारले यो ६ महिनामा यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रूपमा हटाउने काम गरेको र अन्य क्षेत्रमा व्याप्त रहेका एकाधिकारलाई पनि हटाएर व्यवस्थित् गरेको, तस्करीलाई नियन्त्रण गरेको, सार्वजनिक खर्चमा मितव्ययीता अपनाएको र राजदूत नियुक्तिको मापदण्ड बनाउने लगायत समृद्धि र विकासका योजना बनाएको भन्दै राम्रा कामहरू गरेको दाबी गरे ।

प्रधानमन्त्री ओलीको सोच र उनी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतालाई दुरगामी फल प्राप्त हुनेपनि उनको विश्वास छ । त्यस्तै कांग्रेसका केन्द्रिय सदस्य नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न नसकेको आरोप लगाए ।

नेता खड्काले वर्तमान सरकारले करको दर बढाएर जनतामा ठूलो आर्थिक बोझ थोपरेका पनि आरोप लगाए । साक्षात्कारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले उनले मधेशी, आदिवासी, जनजाति, सिमान्तकृत लगायत पिछडिएका समुदायको मुद्दालार्इ समेट्दै सरकार अघि बढ्नुपर्ने बताए ।

उनले ओली नेतृत्वको सरकारको ६ महिने कार्यकाल असफलतातर्फउन्मुख रहेको आरोप पनि लगाए ।

shares