Breaking News

राष्ट्रियता र लोकतन्त्रको मुद्धामा सरकार कमजोर बनेको कांग्रेसको ठहर

काठमाण्डौ, ३ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ६ महिने कार्यकालमा राष्ट्रियता र लोकतन्त्रको मुद्धामा सरकार कमजोर बनेको ठहर गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नेतृत्व राष्ट्रवादको मुद्दामा नराम्रोसंग चुकेको, प्रतिपक्ष प्रति द्वेषयुक्त अभिव्यक्तिहरू, निषेधाज्ञा, मिडियामा बढ्दो हस्तक्षेप र नागरिक स्वतन्त्रतामाथिको मुद्धामा प्रहार गर्दै लोकतन्त्रकै उपहास गरेको आरोप लगाए ।

संघीयता कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा संघीय सरकार देखिएको कांग्रेसको आरोप छ । त्यस्तै विश्वविद्यालयका उपकुलपतिमाथि अपमानजनक ब्यवहार, सुन प्रकरणमा भनिएका ठूला माछाको उन्मुक्ति, अनि भ्रष्टाचारको सत्ता संरक्षित विकेन्द्रीकरणले कम्युनिष्ट सरकारको सुशासनको चित्र प्रष्ट्याएको प्रवक्ता शर्माले बताए ।

त्यस्तै मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको, समृद्धि यात्रा केवल नारामा मात्र सिमित भएको र न्यायलयमाथिको प्रहार सरकारको कमजोरी भएको प्रवक्ता शर्माले उल्लेख गरे । कांग्रेसको नेतृत्वको सरकारका पालामा परिस्कृत भर्इ १ भदौबाट लागू भएको मुलुकी ऐन नेपालको आधुनिक राज्य व्यवस्थाका लागि महत्वपूर्ण ऐतिहासिक दस्तावेज भएको भन्दै उनले अभ्यासमा आउनुपूर्व नै अनुभूत भइसकेका केही कमजोर प्रावधानलाई आवश्यक संशोधन गरेर मात्रै अघि बढ्ने सम्बन्धमा सरकारबाट गम्भीर त्रुटी भएको उनले बताए ।

उनले खासगरी फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानहरूमा संशोधन र सुधारको आवश्यकता रहेको स्पष्ट पारे । बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने अवस्था बनेको भन्दै यस विषयमा संघीय सरकार उदासीनता रहेको कांग्रेसको ठहर छ ।

shares