Breaking News

एसियाली खेलकुद: पाकिस्तानसँग नेपाल २-१ ले पराजित

काठमाण्डौ, ३ भदौ । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत भएको फुटबल खेलमा नेपालको २३ वर्षमुनिको टोली पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग २-१ गोलअन्तरले पराजित भएको छ ।

इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा खेलको १२ औं मिनेटमा नै आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको नेपालले पहिलो हाफमा पाकिस्तानलाई दबाबमा राखेतापनि दोस्रो हाफमा जोगिएर खेल्न नसक्दा २ गोल खान पुगेको हो ।

पाकिस्तानका लागि खेलको ५४ औं मिनेटमा बिलाल मुहम्मदले गोल गरेर बराबरी बनाएका थिए । ७२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै सद्दाम हुसैनले निर्णायक गोल गरे ।

६८ प्रतिशत समय बलमा नियन्त्रण राखेपनि नेपालले गोल भने गर्न सकेन । खेलमा नेपालले १५ प्रहार गरेकोमा ४ प्रहारले पोस्टको दिशा पाउन सफल भएको थियो भने पाकिस्तानले प्रहार गरेका १२ प्रहारमा ५ प्रहार पोस्टको दिशामा रहेको थियो ।

३६ वर्षपछि नेपालको गोलको खडेरी तोडिए पनि नेपाली खेलाडी आफ्नै गोल गर्न भने असफल भए ।

सन् १९८२ को एसियाली खेलकुदका बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको छैन । त्यसबेला पहिलो खेलमा वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । अहिलेसम्म एसियाली खेलकुदमा नेपालले खेलेका १८ खेलमा ७० गोल खाइसकेको छ ।

यसअघि पहिलो खेलमा जापानसँग १-० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० ले हारेको थियो ।

पाकिस्तानसँगको पराजयपछि समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको अन्तिममा रहेको छ ।

shares