Breaking News

प्रत्यायोजित विधायनलाई व्यवस्थित गर्ने निर्देशिकाको मस्यौदामाथि छलफल

काठमाण्डौ, ३ भदौ । प्रत्यायोजित विधायनलाई व्यवस्थित गर्ने निर्देशिका २०७५ को मस्यौदामाथि राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा छलफल भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा समिति सदस्यहरूले प्रत्यायोजित व्यवस्थापनअन्तर्गत कानून बाझिन सक्ने विषयमा थप प्रष्ट भएर जानुपर्ने सुझाव दिएका थिए । कानूनअनुसार नियमावली, नियमावलीअनुसार विनियम बनेको छ कि छैन भनेर निर्क्यौल  गर्नका लागि आवश्यक परे कानूनविद्सँग पनि छलफल गर्नुपर्ने उनीहरूको भनाइ छ ।

मुलुक सञ्चालनका क्रममा सम्पादन गर्नुपर्ने महत्वपूर्ण कार्य ऐनको माध्यमबाट मात्र सम्पन्न गर्न सम्भव नहुने भएकाले प्रत्यायोजित विधायन अन्तर्गत रहेर गठन आदेश नियम लगायतका विभिन्न विधि निर्माण गर्नका लागि निर्देशिका ल्याउन लागिएको हो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको कार्य क्षेत्रभित्र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन सम्बन्धी कार्य र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी विषयलाई समेटिएको छ ।

shares