Breaking News

भारतीय च्याउ बन्द गर्न मागसहित किसानहरू अान्दोलनमा

भक्तपुर, ३ भदौ । च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नु पर्ने भन्दै आन्दोलनमा उत्रिएको छ ।
रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउ किसान उत्पादन संंघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयातलाई प्रोत्साहन दिएर नेपाली उत्पादनलाई निरुत्साहित गरेकाले संर्घषमा उत्रनु परेको बताए ।

उनले नेपाली च्याउ उत्पादनलाई प्रविधियुक्त बनाउन नसकेको र ब्यवसायिक रूपमा ४० भन्दा बढी जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै पचास हजार नेपालीलाई सरकारले बेरोजगारतर्फ धकेल्न थालेको आरोप लगाए । यस्तै अवस्था रहे नेपाली च्याउ उत्पादनमा लागेका किसान बारीमा नभएर रोजगारीका लागि खाडीमा जानु पर्ने बाध्यता आउने उनको भनाइ छ ।

सरकार समक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे माग पत्रलाई सरकारले सम्बोधन गरेर नेपालमा उत्पादन हुने च्याउको संरक्षण र प्रबर्द्धनको भूमिका खेल्दै बजार ब्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए । संघर्ष समितिका सदस्य सचिव शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउलाई भन्दा पनि भारतबाट वैध/अवैध रूपमा भित्रिने झन्डै १ लाख मेट्रिक टन च्याउको बजारलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभावित बनेको बताए ।

उनले नेपाली बजारमा झन्डै २० हजार मेट्रिक टन उत्पादन हुने च्याउको बजारलाई कसरी ब्यवस्थित गर्ने यसतर्फ सरकारले ध्यान दिन नसकेको गुनासो गरे । सरकारले कृषि क्षेत्रलाई प्रोत्सानमुलक विभिन्न कार्यक्रमहरू ल्याएतापनि त्यसको ब्यवहारमा लागू हुन नसकेको च्याउ उत्पादक किसानहरूको पीडाले प्रष्ट्याएको उनले बताए ।

संघर्ष समितिले अन्दोलनको चरणलाई निरन्तरता दिँदै आज कालिमाटी फलफूल तथा तरकारी बजारमा आफूहरूले उत्पादन गरेको वस्तु बिचौलियाहरूबाट नभई आफैंले बिक्री गरेको थियो । संघर्षको कार्यक्रम अन्तर्गत आज कालिमाटीमा कोण सभाका साथै बल्खु तरकारी बजारमा भारतबाट आयत गरिएको वैध/अवैध च्याउ किसानहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । आफ्ना मागहरूको सम्बोधन नगरिए चरणबद्ध अन्दोलनमा उत्रन बाध्य हुने संर्घष समितिले पत्रकार सम्मलेनमा जानकारी दिएको छ ।

shares