Breaking News

नयाँ कानूनलाई सकारात्मक रूपमा लिन कानूनविद्को आग्रह

काठमाण्डौ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद एवम् कानूनविद् रामनारायण बिडारीले आजदेखि लागू भएको नयाँ कानूनलाई सकारात्मक रूपमा लिनको लागि आग्रह गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले मुलुकी ऐनबारे जनतासम्म कम जानकारी भएका कारण केही भ्रमहरू सिर्जना भएको बताए । उनले सकारात्मक सोचकासाथ मुलुकी ऐनलाई स्वागत गर्न आम जनतासमक्ष आग्रह गरे । बिडारीले मुलुकी ऐनको बारेमा १० वर्षसम्म छलफल भएको जिकिर गरे ।

नेता बिडारीले पत्रकारमाथिको अंकुशलाई सामान्य रूपमा लिएर त्यसलाई सकारात्मक रूपमा बुझ्न पनि आग्रह गरे । विशेष कानून र मेलुकी ऐनमार्फत मुलुकको समग्र क्षेत्रलाई अघि बढाउने बताउँदै बिडारीले यस कार्यमा सबैले साथ दिनुपर्ने धारणा राखे । साक्षात्कारमा नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले मुलुकी ऐनलाई बारले स्वागत गरेको बताए । बार अध्यक्ष केसीले वर्तमान कानूनलाई सहज रूपमा लिनसमेत आग्रह गरे ।

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मुलुकी ऐनको धारा २३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए। भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनका धारा २३० र २३१ मा उल्लेखित व्यवस्थाका विरुद्धमा आफूहरूले आन्दोलन गर्ने कार्यक्रम रहेको भएपनि कानून मन्त्रालयले सुझाव मागेको कारण आन्दोलन स्थगित गरिएको उनले जानकारी दिए ।

साक्षात्कारमा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले मुलुकी ऐनले प्रेस जगतलाई साँघुरो बनाउन खोजेको आरोप लगाए । राज्यलाई अग्रगमनतिर अघि बढाउनको लागि सरकार सबैभन्दा प्रगतिशील र जनपक्षीय हुनुपर्ने विरहीको भनाइ छ ।

shares