Breaking News

प्रेमिकाको हत्या गरेर भाग्दै गरेको युवक पक्राउ

विराटनगर, १ भदौ । विराटनगर महानगरपालिका १० का ३० वर्षीय दिनेश भट्टराईलाई आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको छ ।

भट्टराईले प्रेमिका विराटनगर १० की २३ वर्षीया शिखा घिमिरेलाई मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहा पुर्याएर बिहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । प्रेमिकाको हत्या गरेर भाग्दै गर्दा स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर उनलाई प्रहरीको जिम्मा लगाएका छन् ।

एसपी केसीका अनुसार दुवै जना घुम्न भनेर आज बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्टराईले आफूसंग रहेको धारिलो हतियार दाउ प्रहार गरेर प्रेमिकाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

अनुहार, घाँटी, पेट लगायत शरीरका विभिन्न भागमा दाउ प्रहार गरेर विभत्स हत्या गरेपछि नहरको डिलमा शव फ्यालेर भाग्दै गर्दा घेरा हालेर भट्टराईलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । धारिलो हतियार प्रहार गरिएको चोटका कारण शव चिन्न नै नसक्ने अवस्थामा थियो ।

नियन्त्रणमा लिन खोज्दा स्थानीय बासिन्दालाई आफूसंग रहेको छुरा निकालेर प्रहार समेत गर्न खोजेको र त्यस क्रममा छुराले भट्टराईको हात समेत काटेको एसपी केसीले बताए । पक्राउ गरिएका भट्टराईलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

भट्टराईले प्रेमीकाले अरु केटासंग लागेर धोका दिंदै अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको स्वीकार गरेको गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै जना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

shares