Breaking News

नयाँ मुलुकी संहिताको विषयवस्तुलाई पुनर्विचार गर्नुपर्छ: कोईराला

काठमाण्डौ, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले नयाँ मुलुकी संहिताको विषयवस्तुलाई पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै उक्त ऐनका विषयमा विभिन्न पेशागत संघसंस्थाबाट विरोधको स्वर आएको भन्दै त्यसलाई पुनर्विचार गर्नुपर्ने बताएका हुन् । उनले अहिले नै समग्र रूपमा ऐनको विरोध गर्नु उपयुक्त नहुने भन्दै केही समयपछि ऐनको सकारात्मक र नकारात्मक पक्ष बाहिर आउने धारणा पनि राखे । उनले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेपका विषयमा भने कांग्रेसले आवाज उठाउने बताए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता देव गुरुङले अहिले व्यवहारिक अभ्यास नै सुरु भइनसकेको भन्दै अभ्यासका क्रममा कमी कमजोरी भए समयानुकूल परिमार्जन र सुधार गर्न सकिने जिकिर गरे । त्यस्तै राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले लामो समयपछि मुलुकी ऐन परिवर्तन गरिएको भन्दै असन्तुष्टि भए छलफल गरेर संशोधन गर्न सकिने धारणा राखे ।

उनले कार्यान्वयनमा नै नआई विरोध गर्नुको कुनै अर्थ नभएको भन्दै मुलुकी संहिता सामान्य ऐन मात्र भएको टिप्पणी गरे ।

shares