Breaking News

कलंकी ‘अन्डर पास’ को निर्माण सम्पन्न, केही दिनमा औपचारिक शुभारम्भ गरिने

काठमाण्डौ, १ भदौ । काठमाडौंको कलंकी चोकमा जाम घटाउनका लागि निर्माण गरिएको ‘अन्डर पास’ को निर्माण सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका भित्रिने प्रमुख मार्ग रहेकाले अत्यन्तै जाम हुने उक्त स्थानमा जमिनमाथि र मुनिबाट सवारी चलाउन उक्त अन्डर पासको निर्माण गरिएको हो । केही दिनमा नै उक्त सडकको औपचारिक शुभारम्भ गरिने तयारी गरिएको छ ।

चीन सरकारको सहयोगमा बनेको अन्डर पासको निर्माण कार्य २०७४ को पुसभित्र सक्ने लक्ष्य रहे पनि भूकम्प र नाकाबन्दीको कारण लम्बिएको थियो । चक्रपथ विस्तार आयोजनका अनुसार अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम भने बाँकी छन् ।

यसअघि असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डरपास खुलेपछि कलंकीमा अहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले दाबी गरेको छ ।

shares