Breaking News

करवृद्धि, महङ्गी लगायत विषयमा सरकारको ध्यानाकर्षण

काठमाण्डौ, १ भदौ । सांसदहरूले करवृद्धि, महङ्गी लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले स्थानीय तहले जथाभावी कर लगाएकाले जनता मारमा परेको भन्दै करमा पुर्नविचार गर्न माग गरेका छन् । त्यसैगरी, उनीहरूले श्रमिकलाई नयाँ कायम भएको वेतन उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद विन्दा पाण्डेले मुलुकका विभिन्न स्थानमा छुवाछुत, बोक्सी लगायतका नाममा दुर्व्यवहार हुने क्रम नरोकिएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

निर्वाचित जनप्रतिनिधिबाट जुम्लामा दलित समुदायका जनप्रतिनिधि विभेदमा परेको, धनुषामा बोक्सीको आरोप लगाई दुश्कार्यमा सहभागी भएको तथा प्रहरीले त्यसबारेका उजुरी लिन अस्वीकार गर्नु र खोटाङमा जनप्रतिनिधिले दलितले छोएको पानी नखाने काम भएको भन्दै उनले त्यस प्रकारमा काममा संलग्न जनप्रतिनिधि र सुरक्षाकर्मीलाई के कारवाही हुँदैछ सदनमा जानकारी गराईयोस् भनी माग गरिन् ।

उनले सिंहदरबारमा मात्रै नभई संसद सचिवालयमा कार्यरत कर्मचारीले पनि नयाँ न्यूनतम पारिश्रमिक नपाएको गुनासो आएकाले त्यसबारे वास्तविकता सदनलाई जानकारी गराउन सम्बन्धित पक्षसंग माग गरिन् । त्यसैगरी उनले अनौपचारिक क्षेत्रको श्रमिकको पञ्जिकरण सम्बन्धमा राखेको प्रश्नको जवाफ कहिले आउँछ भनी प्र्रश्न गरिन् ।

सांसदलक्ष्मी परियारले तराईका जिल्लामा सर्पदंशको प्रभावकारी उपचारको व्यवस्था मिलाउन माग गरिन् ।

सांसद लालबहादुर थापाले वर्षाका कारण बाजुराको साफे मार्तडी खण्डको सडक अवरुद्ध हुँदा जिल्लाबासीले समस्या खेप्नुपरेको भन्दै सडक खण्ड सुचारु गर्न माग गरे ।

सांसद बसन्त कुमार नेम्वाङ्ग बनको जग्गा सट्टा भर्नाको विवादका कारण राष्ट्रिय प्राथमिकताको आयोजना २ सय ३२ केबी कोशी प्रशारण लाईन निर्माणको काम रोकिएकाले बनको २३ सय रोपनी जग्गा सट्टा भर्ना नगरी निर्माण कार्य गर्न पाइँदैन भन्ने निर्देशिकाको प्रावधान हटाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद सरला कुमारी यादवले पुर्ननिर्माण प्राधिकरणले बनाइरहेका ७ हजार विद्यालयमा बजेट अभाव देखाउँदै सौचालय नबनाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद सानु सिवाले काठमाण्डौ महानगरपालिका नयाँ वानेश्वर वडा नम्बर ३१, शान्तिनगर जागृतीटोल सुकुम्बासी बस्तीमा खानेपानीको अभाव भएका भन्दै स्वच्छ खानेपानीको व्यवस्था गर्न माग गरे ।

सांसद सुजाता परियारले स्थानीय तहमा जथाभावी कर वृद्धि गरिएको वैज्ञानिक कर प्रणाली लागू गर्न ध्यानाकर्षण गराइन् ।

सांसद सूर्य प्रसाद पाठकले स्थानीय तहले शिक्षा र स्वास्थ्यमा ८ देखि १० प्रतिशतको बजेट छुट्याउनुपर्ने बाध्यकारी व्यवस्था गर्न माग गरे ।

सांसद हिरा गुरुङले पुर्ननिर्माण प्राधिकरणमा हुने राजनीतिक हमलाले भुकम्प पीडितलाई राहतभन्दा आहात पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

shares