Breaking News

५ वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने अर्थमन्त्रीको घोषणा

काठमाण्डौ, १ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे । उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दावी पनि गरे । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको पनि बताए । सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दावी छ ।

अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तराष्ट्रिय लगानी भित्रयाउन लागि परेको पनि स्मरण गराए । उनले दिगो विकास लक्ष्य हासिलका लागि सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जाने नीति लिएको पनि समितिलाई जानकारी गराए । अर्थमन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिल हुनेगरी पूर्वाधार विकास गर्न निजी क्षेत्र र सहकारीसँगको सहकार्यलाई पनि सरकारले जोड दिएको उल्लेख गरे ।

बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी तथ्यांक संकलनको काम सुरु गरिएको जानकारी दिए । उनले अनुगमन र मूल्यांकनको माध्यमबाट स्रोत र साधनको दुरुपयोग हुन नदिई दिगो विकास गर्न आवश्यक दीर्घकालीन योजना बनाउने काम पनि भइरहेको बताए ।

उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी योजना बनाउने कामलाई आयोगले अन्तिम चरणको पु¥याएको पनि जानकारी दिए ।

shares