Breaking News

गायक सरोज अधिकारीको ‘भोलि’मा केकी र निराजन

काठमाण्डौ, १ भदौ । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक सरोज अधिकारीले ‘भोलि’ नामको मन छुने गीत बजारमा ल्याएका छन् ।

गीत लेखन, सङ्गीत र गायनमा अब्बल अधिकारीले २०६६ सालमा ‘प्रभाव’ नामको एल्बम लिएर आएका थिए । सो समयमा ‘आज धेरै’ भन्ने बोलको गीत सञ्चारमाध्यमहरूमा निकै चर्चामा थियो । केही समय अघि उनले ‘भावना’ नामको एलबम पनि बजारमा ल्याएका थिए ।

आफ्नै शब्द सङ्गीत र स्वरमा सरोजले ‘भोलि’ बजारमा ल्याएका हुन् । गीतको भिडियोमा केकी अधिकारी, निराजन प्रधान र ज्योति काफ्ले लगायतले अभिनय गरेका छन् । अमेरिकामा रेकर्ड भएको गीतको भिडियो काठमाण्डौमा तयार गरिएको हो । भिडियो बनाउन पुष्कर दाहालले महत्वपूर्ण भूमिका खेलेका छन् । यस भिडियोका निर्देशक नितिन चन्द रहेका छन् ।

सानो उमेरदेखि गीत सङ्गीतमा रुचि राख्ने सरोज परिवारको पनि साथ भएकोले साङ्गीतिक क्षेत्रमा प्रगति भएको बताउँछन् । ‘यो क्षेत्र सानै उमेरदेखि रुचिको क्षेत्र हो, नेपालदेखि अमेरिकासम्म आएर पनि निरन्तरता दिँदैछु’ गायक अधिकारीले भने ‘नेपाली गीत सङ्गीतलाई जहाँ पुगे पनि माया गरिरहन्छु, श्रोता र दर्शकको माया पाउने आशा भएकाले गाउने पेसा छाड्दिन।’

shares