Breaking News

‘आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी कानूनहरू हालसम्मकै उत्कृष्ट’

काठमाण्डौ, १ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी कानूनहरू हालसम्मकै उत्कृष्ट रहेको दाबी गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी कानूनहरू हालसम्मकै उत्कृष्ट रहेको दाबी गरेका हुन् । उनले आजबाट लागू गरिएको मुलुकी अपराध संहिता मानव अधिकारमैत्री रहेको उल्लेख गर्दै यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गरे ।

मुलुकी ऐन प्रतिस्थापनका लागि बनेका कानूनको आलोचनासमेत भइरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पौडेलले यसले नेपालले पीडितलाई न्याय दिन नसकेको भनी अन्तराष्ट्रिय समुदायले गरिरहेको आलोचनाको गतिको जवाफ दिने पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आजबाट लागू गरेको सो कानून सार्वभौमसत्ता सम्पन्न संसदले पारित गरेको, सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्यमान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने तर्क पनि गरे ।

सरकारले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ कानून लागू गरेको हो । सो कानून समयसापेक्ष रहेको पनि आयोगका सदस्य पौडेलले स्मरण गराए । राणा कालमा तर्जुमा गरिएको सो ऐनलाई सरकारले १ सय ६५ वर्षपछि प्रतिस्थापन गरेको हो । प्रतिस्थापन गरिएको कानूनहरूमा मुलुकी अपराध ऐन अन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् ।

shares