Breaking News

अाजदेखि मुलुकमा नयाँ कानून कार्यान्वयनमा

काठमाण्डौ, १ भदौ । १६५ वर्ष पुरानो इतिहास बोकेको मुलुकी ऐन विस्थापित भएर शुक्रबारदेखि अर्थात भाद्र १ देखि मुलुकमा पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । राजा सुरेन्द्रको राज्यकालमा प्रधानमन्त्री जङ्गबहादुरले विक्रम संवत् १९१० को पौष ७ गते अधिराज्यभर लागू गरेका मुलुकी एेन नै नेपालको पहिलो लिपिबद्ध कानून रहेको थियो जुन अाजैबाट विस्थापित भएको छ ।

मुलुकी अपराध संहितामा विभिन्न ६ अपराधमा आजीवन कैद तोकिएको छ । क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जाति हत्या गर्ने उद्देश्यले कसूर गरेमा र जबर्जस्ती करणी गरेमा त्यस्ता अपराधीले आजीवन कैद भुक्तान गर्नुपर्नेछ ।

यसैगरी जन्मकैदलाई २५ वर्ष बनाइएको छ । यसअघि २० वर्ष जन्मकैदको रुपमा सँजाय राखिएको थियो ।

देवानी संहितामा केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाइने, सम्बन्ध विच्छेदका लागि पुरुष पनि सोझै अदालत जान पाउने, गर्भको शिशु पनि अंशको हकदार हुने, कुनै पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भए स्वतः विवाह भएको मानिने, मञ्जुरी नलिई कसैको तस्वीर खिच्न नपाइनेलगायत व्यवस्था गरिएको छ ।

विवाह गर्दा दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ऐनमा व्यवस्था गरिएको छ । यस्तै ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागिदार हुने व्यवस्था गरेको छ । जानी जानी बहुविवाह गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

अनुमति बिना कसैको तस्वीर खिचेमा वा एउटा व्यक्तिको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाएमा एक वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । एक व्यक्तिको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपमा तस्वीर बनाएमा दुई वर्षसम्म कैद वा २० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

अपराध संहितामा सार्वजनिक आवागमनमा बाधा पुर्‍याउनेलाई तीन वर्ष कैद वा ३० हजारसम्म जरिवाना, खाद्य पदार्थमा मिसावट गरे पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना, सार्वजनिक ठाउँमा अरुलाई अभद्र व्यवहार गरे एक वर्षसम्म कैद हुनेलगायत व्यवस्था छ । दुवै संहिताका दुई कार्यविधि कानून, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन पनि आजैदेखि लागू हुँदैछन् ।

नयाँ कानून कार्यान्वयनमा आएसँगै नागरिक ऐन, गाली बेइज्जती ऐन, सार्वजनिक अपराध तथा सजाय ऐनलगायत १५ वटा पुराना कानून खारेज भएका छन् । ६६ वर्षको अन्तरालमा मुलकमा संविधान सात पटक फेरिए पनि कानून चाहिँ जंगबहादुर राणाको पालामा वि.सं.१९१० मा बनेको मुलुकी ऐनले नै काम चलिरहेको थियो । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो ।  नयाँ कानून लागू भएको दिनलाई सरकारले उत्सवका रूपमा मनाउन तयारी गरेको छ।

यसका लागि दिउँसो २ बजे सिंहदरबारमा विशेष कार्यक्रम राखिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरा, कानूनमन्त्री भानुभक्त ढकाललगायत सहभागी हुने बताइएको छ ।

shares