Breaking News

दक्षिण भारतको केरलामा भीषण बाढी, मृत्यु हुनेको संख्या १०० नाघ्यो

काठमाण्डौ, १ भदौ । भारतको दक्षिणी राज्य केरलामा अाएको भीषण बाढी र पहिरोका कारण सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

पहिरोमा पुुरिएर १०६ मानिसहरूको ज्यान गएको त्यहाँका राज्य सरकारका अधिकारीहरूले जनाएका छन् भने द इकोनोमिक टाइम्स इन इण्डियाको अनुसार ११४ जना मारिएका छन् । सताब्दीकै सबैभन्दा विनाशकारी मानिएको सो बाढी पहिरोमा परी एक लाख ५० हजार घरविहीन भएका छन् ।

अझै पनि केही स्थानमा पहिरोको खतरा रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । केरलाको मुख्य विमानस्थल २६ अगष्टसम्मका लागि बन्द गरिएको छ । हेलिकोप्टर तथा डु‌ंगाको सहायतामा सैयौं सैनिक जवान सम्मिलित उद्धार टोली उद्धार कार्यका लागि खटाइएको छ ।

सरकारले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान सर्वसाधारणलाई गरेको अपिलको बेवास्ता नगर्न पनि अाग्रह गरेको छ । सूचनाका बाबजुद घर छाड्न नमानेका कारण पनि कैयौँको मृत्यु भएको छ । छिमेकी तमिलनाडु सरकारले बाँध समयमा नखोलेका कारण पनि केरला बाढीको मारमा परेको हो ।

बाढीका कारण मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केरलाका मुख्यमन्त्री पिनाराइ विजयेननलाई टेलिफोन गरी तत्काल उद्धारका लागि जस्तोसुकै सहयोग गर्न के‍न्द्र सरकार तयार रहेको बताएका छन् ।

shares