Breaking News

बढ्दो बलात्कार र हत्या हिंसाका घटना नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने

काठमाण्डौ, ३१ साउन । महिला संघर्ष समितिले पछिल्लो समय बलात्कार र हत्या हिंसाका घटनामा वृद्धि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने जनाएको छ ।

बिहीबार काठमाडौंमा ‘समाजमा बलात्कार बढोत्तरी किन ?’ विषयक अन्तर्क्रियाको आयोजना गर्दै समितिले नेपालका सबै नागिरकहरू सचेत नभएसम्म बलात्कारको घटना बढिरहने समेत जनाएको छ । सामाजिक, आर्थिक, मनोवैज्ञानिक, वैचारिक, सांस्कृतिक आदि कारणले समाजमा दिनप्रतिदिन बलात्कारको घटना बढिरहेको समितिको भनाइ छ ।

कार्यक्रममा सांसद रेखा शर्माले महिला हिंसा अन्त्यको लागि विद्यालयस्तरदेखि नै सबैलाई सचेत गराउनुपर्ने बताइन् । समाजमा घटेका थौरै घटनामात्र बाहिर आएको भन्दै धेरै घटनाहरू गुपचप रहने गरेको बताए । उनले बलात्कार र हत्या हिंसाका घटनामा निरुत्साहित गर्न कडाभन्दा कडा ऐन कानून ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नयाँ शक्तिका नेतृ हिसिला यमीले ‘समाजमा बलात्कार बढोत्तरी किन ?’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । महिला संघर्ष समितिमा, महिला शक्ति महासंघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल प्रगतिशील महिला संघ रहेका छन् ।

shares