Breaking News

तोकिएको समयावधि भित्रै पुनर्निर्माणको काम सम्पन्न हुन्छ: सिइओ ज्ञवाली

काठमाण्डौ, ३१ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले तोकिएको समयावधि भित्रै ठोस कार्ययोजना तयार गरी पुनर्निर्माणका काम अघि बढाउने बताएका छन् ।

दोस्रोपटक प्राधिकरणको कार्यभार सम्हाल्दै गरेका ज्ञवालीले बिहीबार पदवहालीपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै हालसम्म भएको पुनर्निर्माण प्रगति र आगामी दिनमा हासिल गर्ने उपलब्धि समेटेर नयाँ ढंगले अघि बढ्ने बताए ।

पुनर्निर्माणका कामलाई गतिलार्इ तिब्रता दिन भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ ले तोकेको ५ वर्षमा पुनर्निर्माणको काम सक्ने लक्ष्यलाई पुनरावलोकन गरिने उनले बताए ।

सरकारले ५ पुस ०७२ मा जारी गरेको प्राधिकरण ऐनले प्राधिकरणको अवधि ऐन जारी भएको ५ वर्ष रहने व्यवस्था गरेको छ । कथंकदाचित समयावधिभित्र पुनर्निर्माण सम्पन्न हुन नसक्ने अवस्था आएको खण्डमा प्राधिकरणको समयावधि १ वर्ष थप गर्न सकिने व्यवस्था ऐनमा उल्लेख छ ।

राजनीतिक स्थायित्व, संघीय प्रणाली लागू भएर अधिकार तल्लो तहमा पुगेको लगायतका विषय उल्लेख गर्दै सिइओ ज्ञवालीले अब प्राधिकरणलाई कुनै खालको ‘क्षमा’ नहुने बताए । उनले स्थानीय तहमार्फत् जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व वर्ष बनाउने योजना रहेको पनि बताए ।

२०७५ श्रावण २९ गते बसेको मन्त्रिपरिपरिषद्को बैठकले ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

shares