Breaking News

सडकको गुणस्तर मापन उपकरण खरिद प्रक्रियामा अघि बढ्दै सरकार

काठमाण्डौ, ३१ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न उपकरण खरिद गरी प्रयोगमा ल्याउने तयारी गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कालोपत्र भएका सडकको गुणस्तर मापन गर्न र गुणस्तरमा खेलवाड गर्ने ठेकेदारलाई कारवाही गरी क्षतिपूर्ति भराउनका लागि सडकको गुणस्तर मापन उपकरण खरिद गर्ने प्रक्रियामा अघि बढेको जानकारी दिए ।

उनले मुलुक भरका सडकमध्ये स्थानीय तह, प्रदेश तथा सङ्घ कुनबाट सञ्चालन, मर्मत गर्ने भन्ने छिट्टै निर्णय हुने जानकारी पनि दिए । उनले काठमाडौंको सबै सडकका खाल्डाखुल्डी भदौ १२ गतेसम्म पुरिसक्ने भन्दै कलङ्की–नागढुङ्गा, चाबहिल साँखु सडकको पनि स्तरोन्नति हुने बताए ।

त्यस्तै उनले पाँच वर्षभित्रमा सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालले जोड्ने लक्ष्य रहेको धारणा पनि राखे । त्यस्तै मन्त्री महासेठले अदालतले विकास निर्माणलाई सहयोग नगरेको निष्कर्षमा सरकार पुगेको बताउँदै पुनरावलोकनमार्फत पुरानो फैसाला उल्ट्याइने दाबी गरे । त्यस्तै उनले बढीमा पाचँ वर्षभित्र जनकपुर सिमरा रेलमार्ग सञ्चालन गर्ने दाबी पनि गरे ।

बैठकमा सांसद कमला रोकाले विस्तृत कार्ययोजना बनाएर मात्र सडक निर्माण कार्य सुरु गर्न सुझाव दिँदै पहुँचभन्दा आवश्यकताका आधारमा निर्माण गर्नुपर्ने बताए । सांसद राजेन्द्र लिङदेनले सरकारले सिण्डीकेड हटाएको दाबी गरेपनि जनताले त्यसको अनुभव प्राप्त गर्न नसकेको धारणा राखे ।

समितिले बैठकले सडक विस्तार र मर्मत गर्दा दीर्घकालीन योजना बनाएर अघि बढ्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ भने काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न पनि निर्देशन दिएको छ ।

shares