Breaking News

दुर्घटनामा दुर्इ पाङ्ग्रे सवारी चालकको अधिकतम मृत्यु

काठमाण्डौ, ३१ साउन । काठमाडौं उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये दुर्इ पाङ्ग्रे सवारी चालकको अधिकतम ज्यान जाने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो ।

यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार दुई पांग्रे सवारीसाधन तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने सम्भावना धेरै हुने गर्दछ ।

आव ०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना ४, बस दुर्घटना ७, टेम्पो दुर्घटनामा १ र कार दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

आव ०७३/७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी अाएको बताइएको छ ।

उपत्यकामा मात्र आव ०७४/७५ मा ११ हजार ५०७ दुर्घटना भएकामा एक हजार ५८० ट्रक, एक हजार ३२७ बस, ४१० माइक्रो, तीन हजार ८९० कार, भ्यान, जीप, चार हजार ४६ मोटरसाइकल, स्कुटर, १०३ टेम्पो परेका थिए । रासस

shares