Breaking News

सरकारलाई कमजोर बनाउन कांग्रेसले षड्यन्त्र बुनिरहेको छ: प्रधानमन्त्री

काठमाण्डौ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर पार्न विभिन्न षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारलाई कमजोर बनाउन नेपाली कांग्रेसले षड्यन्त्र बुनिरहेको र सरकारलाई काम गर्न अवरोध गरेको आरोप लगाए । विभिन्न रिक्त पद पूर्तिमा हस्तक्षेप गरेको र कांग्रेसले कुनै एजेन्डा नपाएर सरकारलाई कमजोर बनाउने षड्यन्त्रमा मात्र लागेको उनको भनाइ छ ।

उनले सरकारलाई कमजोर पार्नकै लागि नयाँ कानूनका विषयमा भ्रम फैलाउने काम भएको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रको हितलाई मध्यनजर गर्दै नयाँ कानून ल्याउन लागेको जानकारी पनि दिए । नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफूहरू समृद्धिको नयाँ विमान उडाउने तयारीमा रहेको भन्दै नेकपाबाहेक अन्य दलमा पार्टी परित्याग गर्नेको संख्या बढेर पहिरो जाने दाबी पनि गरे । उनले नेकपामा प्रवेश गरेका सबैले उचित किसिमको जिम्मेवारी पाउने तर्क गरे ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले दुई तिहाईको मत दिएको भन्दै सामाजिक न्यायसहित समृद्धिको नयाँ विमान उडाउन लागिरहेको बताए । उनले कसैले विरोध गर्दैमा सरकार नढल्ने दाबी पनि गरे ।

कार्यक्रममा कांग्रेस, राजपालगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

shares