Breaking News

उपभोक्ता अदालतलाई अझ प्रभावकारी बनाउन सांसदहरूको माग

काठमाण्डौ, ३० साउन । प्रस्तावित उपभोक्ता संरक्षण ऐनमा व्यवस्था गरिएको उपभोक्ता अदालतलाई अझ प्रभावकारी बनाउन सांसदहरूले माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्दान्तिक छलफलका क्रममा सांसदहरूले उपभोक्ता अधिकार कमजोर हुँदै गएको अवस्थामा उपभोक्ता अदालतलाई अझ प्रभावकारी बनाउन जोड दिएका हुन् ।

सांसदहरूले ठूला कालाबजारी भेट्टाउन नसकेको, उद्योगी व्यापारीमा परिणत भएका, उपभोक्ता अदालत कमजोर बनाइएको, अदालतमा विज्ञ नराखी कर्मचारीको व्यवस्था गरिएको, अदालतमा पुनरावेदनको व्यवस्था गर्न नसकिएको बताएका थिए ।

सांसद कृष्णभक्त पोखरेलले क्षतिपूर्तिको यकिन किटान नगरिंदा मुद्धा मालिमामा झण्झटिलो हुनेतर्फ सचेत गराएका थिए । नेमकिपाका सांसद प्रेम सुुवालले पीडकबाट क्षतिपूर्ति भराउने व्यवस्था गर्न माग गरे । सांसद गजेन्द्रबहादुर बस्नेत उपभोक्तालाई हरेक सामान खरिदमा ठगी गरिएको भन्दै यसमा सरोकारवाला पक्ष मौन रहेको बताए ।

त्यसअघि बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको बैठकले ‘निवृत्तिभरण कोष विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । त्यस्तै अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिमाथि छलफल गरियोस् भनी पर्यटनमन्त्रीले राख्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भाद्र १ गते दिउँसो १ बजे बोलाइएको छ ।

shares