Breaking News

पत्नीलाई जबर्जस्ती गरे पतिलाई ५ वर्ष कैद

काठमाण्डौ, ३० साउन । देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू गर्ने भएको छ ।

फौजदारी कसूर सम्बन्धी संहिताको व्यवस्था गर्न जरुरी भएकोले संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो ।

यही भदौ १ गतेदेखि लागू हुन लागेको यो ऐनमा विशेष गरी फौजदारी कसूरसम्बन्धी मुद्दाको कारबाही र सजाय निर्धारणलगायतका विषयमा विद्यमान कानूनी व्यवस्थामा केही परिवर्तन गरिएको छ ।

नयाँ एेन अनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद सँजाय हुने भएको छ ।

कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानूनअनुसार कारबाही भोग्नुपर्नेछ ।

संहिताको परिच्छेद – १८ करणी सम्बन्धी कसूरको दफा दुई सय १९ को उपदफा ५ मा यस्तो व्यवस्था गरिएको छ ।

यस्तै नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सँजाय हुने व्यवस्था छ ।

जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सँजाय हुने व्यवस्था नयाँ संहिताले गरेको हो । कानूनमा पीडित बालिका र महिलाको उमेर हेरिकन अपराधीलाई सँजायको व्यवस्था गरिएको छ ।

बलात्कारमा संलग्नलाई ७ वर्ष देखि २० वर्षसम्मको जेल सँजाय हुन्छ । सामूहिक रूपमा जबर्जस्ती करणी गरेमा अपराधीलाई थप पाँच वर्ष सँजाय हुने एेनमा व्यवस्था गरिएको छ ।

shares