Breaking News

पहिरोमा ४ घर पुरिए, थप ११ घर जोखिममा

म्याग्दी, ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् भने थप ११ घर जोखिममा परेका छन् ।

वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो । त्यसैगरी, काशीराम पुन, बुद्धिराम पुन, दलबहादुर पुन, मनमान पुन, तमबहादुर पुन, हर्कलाल रोका, तुलबहादुर रोका, तुलप्रसाद पुन, बलबहादुर घर्ती, जुद्धमान पुन, महेन्द्र पुनको घर जोखिममा परेको बताइएको छ ।

पहिरोले चार घरभित्र रहेका खाद्यान्न, लत्ताकपडालगायत सबै सामान पुरिएको छ, तर भागदौडमा स्थानीयले ज्यान जोगाउन सफल भएका कारण गम्भीर मानवीय क्षति भने हुन पाएन । पहिरोमा परी घाइते भएका आमा छोरा मीराकुमारी पुन र वसन्त पुनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

पहिरो गएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ भने क्षतिको अवस्थाबारे गाउँपालिका र सुरक्षा निकायलाई जानकारी गराइएको वडाध्यक्ष नरबहादुर पुनले जानकारी दिए । क्षतिको विवरण सङ्कलन र उद्धार कार्यका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

shares