Breaking News

नेकपाको बन्दमा बिभिन्न स्थानमा शंकास्पद बस्तु फेला, विभिन्न स्थानमा आगजनी र तोडफोड

काठमाण्डौ २९ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा पार्टीले गरेको बन्दका कारण मुलुकका बिभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मालाई अवैधरुपमा चन्दा असुली गरेको आरोपमा सरकारले पक्राउ गरेपछि नेकपाले आज बन्द आह्वान गरेको हो ।

राजधानी काठमाडौंमा बन्दको खासै प्रभाव नपरेपनि बुटवल, पोखरा, बिराटनगर, कैलाली लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । भक्तपुरको सूर्यबिनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ ।

काठमाडौंको जोरपाटी नजिकै नयाँपाटीमा प्रेसर कुकर बम राखेको पाइएपछि नेपाली सेनाले निस्कृय पारेको छ । काठमाडौं प्रहरीले भने सर्वसाधारणलाई तर्साउनका लागि कृत्रिम बस्तुलाई बमका रुपमा राखेको जनाएको छ ।

यसैबीच बन्दको सामान्य प्रभाव रुपन्देहीमा पनि परेको छ । बन्दका कारण राजमार्ग तथा हुलाकी मार्गमा चल्ने सवारी ठप्प छन् । शिक्षण सँस्था तथा बजारसमेत खुलेका छैनन् । विभिन्न क्षेत्रमा विष्फोटक पदार्थ भेटिएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा रहेको तुल्बुलीया पुलमा भेटिएको विष्फोटक पदार्थ सेनाको डिष्पोजल टोलीले डिष्पोज गरेको छ । यसअघि हिजो साँझ बुटवलको भारतीय पेन्सन क्याम्पमा विष्फोट भएको थियो । बिष्फोटबाट सामान्य क्षति भएको थियो । यस्तै बुटवल, तिलोत्तमा, देवदह लगायतका क्षेत्रमा समेत शंकाष्पद वस्तु भेटिएपछि सतर्कता अपनाएको प्रहरीले जनाएको छ ।

बन्दकर्ताले नवलपरासीमा दुईवटा ट्रकमा आगजनी गरेका छन । यस्तै, बन्दकर्ताले मकवानपुर र नुवाकोटमा गाडीमा आगजनी गरेका छन् । मकवानपुरमा रित्तो बस र नुवाकोटमा बालुवा बोकेका ट्रिपरमा आगजनी तथा तोडफोड भएको हो ।

shares