Breaking News

गायक बज्राचार्यको ‘मनमगन’ अब विभिन्न भाषामा

काठमाण्डौ, २८ साउन । केही समय पहिला सार्वजनिक लोकप्रिय पप गायक दीपक बज्राचार्यको ‘मनमगन’ गीतले पछिल्लो समय धेरै राम्रो चर्चा पाइरहेको छ । अपार सफलतापश्चात गायक बज्राचार्यको सोही गीतलार्इ अब विभिन्न भाषामा पनि सुन्न र हेर सकिने भएको छ । केही दिन अघिमात्र ‘मनमगन’ नेपाल भाषामा पनि सार्वजनिक गरिएको छ भने चाँडै नै हिन्दी र अन्य भाषामा समेत रिलिज गर्ने उनको तयारी छ ।

गायक बज्राचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्ने भएको छ । यसका लागि लाग्ने सबै खर्च डिजिट्युनले नै व्यहोर्नेछ । यसरी नेपाली कलाकारको लोकप्रिय गीतलाई हिन्दी भर्सनमा प्रवर्द्धन तथा प्रचारप्रसारका लागि करोडौंको लगानी गर्नु नेपाली संगीतकर्मी तथा संगीत प्रेमीहरूका लागि खुसीको कुरा हो ।

नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमहरूबाट प्रचार प्रसार हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय भएको सरोकारवालाहरूले बताएका छन् । संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौं ,संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरूको तालमा ‘क्रिम अफ रीदम’ अभियान अगाडि बढाइरहेका छन् ।

८ वर्ष अघि पनि उनले ‘क्रिम अफ रीदम’ अभियान अन्तर्गत मौलिक बाजाहरूको समिश्रण गरी काली काली, ओ अमिरा, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरू समावेश गरी ‘मेड्ल’ रिलिज गरेका थिए जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो ।

क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरूको प्रयोग गरी फ्यूजन गर्दै संसारलाई सुनाउने र नेपाली बाजाको तालमा संसारलाई नचाउने अभियानलाई अघि बढाउँदै आएको छ । ‘मन मगन’लाई विश्वब्यापी बनाउन तीन महिनासम्म युरोप, अमेरिका, अष्ट्रेलिया, कोरियामा लगायतका देशमा सांगीतिक कार्यक्रम गर्न लागेका पपगायक बज्राचार्य अहिले युरोपको सांगीतिक टुरमा छन् ।

भिडियो हेर्नुहोस्-

shares