Breaking News

विविध सांस्कृतिक कार्यक्रम गरी मारवाडी महिलाले मनाए तीज

पकंज शर्मा/झापा, २८ साउन । हिन्दू धर्मावलम्बी महिलाहरूले मनाउने हरितालिका तीजलाई स्वागत गर्दै भद्रपुरका मारवाडी समुदायका महिला तथा युवतीले तीज पर्व विविध कार्यक्रमका साथ मनाएका छन् ।

भद्रपुर मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चको संयुक्त आयोजनामा भद्रपुरस्थित सिटी गार्डेन होटलमा आयोजित कार्यक्रममा यस समुदायका महिला तथा युवतीहरूले रातो साडीमा सजिएर खुसी साटासाट गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै तीज पर्व मनाएका हुन् ।

भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष अर्चना मित्तलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मारवाडी महिला मञ्चकी उपाध्यक्ष निर्मला जोशीको उपस्थिति रहेको थियो । कार्यक्रममा यस समुदायका महिला तथा युवतीहरूले तीजको विभिन्न संगीतमा नृत्य गर्दै नाटकहरूसमेत प्रस्तुत गरेका थिए ।

साथै सहभागी युवती तथा बालिकाहरूले पनि नेपाली, हिन्दी, मारवाडी भाषाको संगीतमा सामूहिक तथा एकल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आयोजकले प्रतियोगितामा सहभागी महिलाहरूलाई पुरस्कृत समेत गरेको जनाइएको छ । कार्यक्रमको सञ्चालन अनिता शर्माले गरेकी थिइन् ।

shares