Breaking News

सरकार राष्ट्रिय पूँजी प्रवर्द्धन गर्ने पक्षमा छ: नेपाल

काठमाण्डौ, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सरकार राष्ट्रिय पूँजी प्रवर्द्धन गर्ने पक्षमा रहेको बताएका छन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघले आइतबार काठमाडौंमा आयोजना गरेको नेपाली पूँजीबजारमा नियामक निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको विकासका लागि राष्ट्रिय पूँजी प्रवर्द्धन गर्ने पक्षमा रहेको बताएका हुन् ।

उनले अहिले जनतासंग भएको पूँजी परिचालनका लागि पूँजीबजार लगानीकर्ता संघले सकारात्मक भूमिका खेल्नुपर्ने समेत बताए । नेता नेपालले कृत्रिम रूपमा कुनैपनि कम्पनीको मुनाफा देखाएर नाफा कमाउने गरेको गुनासो आएको धारणा राखे । उनले कृत्रिम नभई वास्तविक रूपमा नै कम्पनीको अवस्थामा आधारित भएर सेयरको कारोबार भए लगानीकर्ता मर्कामा नपर्ने जिकिर गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले आर्थिक विकासको पूर्वाधारका रूपमा पूँजीबजारलाई अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा लिइने बताए । उनले पछिल्लो समय रेमिट्यान्स पनि ८ दशमलव ६ प्रतिशतले बढेको भन्दै यसले पूँजीबजारलार्इ पनि असर गर्ने बताए ।

कार्यक्रममा नेपाल पूँजीबजार लगानीकर्ता संघले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

shares