Breaking News

४ पत्रकारलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५’ प्रदान

काठमाण्डौ, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ चार जना पत्रकारलाई प्रदान गरेको छ ।

फोनिजले आफ्नो १९ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले चार जना पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन् । उक्त पत्रकारिता पुरस्कारबाट यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा पुस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशि जनही ४० हजार रुपैयाँ रहेको छ । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बास्कोटाले सरकारले पत्रकारमैत्री ऐन ल्याउन लागेको भन्दै बाहिर आएको हल्लामा सत्यता नरहेको बताए । सामाजिक सञ्जाल र अनलाईन सञ्चारमाध्यमको फरकतामा बोलेको विषयलाई अतिरञ्जित गरिएको उनको भनाइ छ ।

त्यस्तै श्रमजिवी पत्रकारको पेन्सनको विषय, समानुपातिक विज्ञापनको विषयलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाइने मन्त्री बास्कोटाले बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको हक हितका लागि सञ्चारमैत्री कानून बनाउनुपर्नेमा जोड दिए ।

shares