Breaking News

मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाण्डौ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मिडिया सोसाइटीका नवनिर्वाचित अध्यक्ष शुभशंकर कंडेलसहित कार्यसमितिलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल मिडिया सोसाईटीका पदाधिकारीलार्इ आमन्त्रण गरेर खादा ओढाएर स्वागत गर्दै बधाई दिएका हुन् ।

सोसाइटीको पदाधिकारीहरूसंगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान मिडिया क्षेत्रले रचनात्मक सहयोग गर्नुपर्ने बताए । नागरिक स्वतन्त्रताका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको भन्दै प्रधानमन्त्रीले कुनै पनि प्रकारका नागरिक अधिकारलाई अरु बढी व्यवहारिक रूपमा प्रत्याभूति गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रधानमन्त्री तथा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गर्दै सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलले मिडियालाई विशेष उद्योगको दर्जा दिलाएर मिडिया क्षेत्रको सम्मान गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्री ओलीको देश विकासको नियतमा कुनै पनि समस्या नभएपनि सरकारले त्यस दिशामा प्रदर्शन गर्न नसकेको अध्यक्ष कंडेलले स्मरण गराए ।

सोसाइटीको पूर्व अध्यक्ष कैलाश सिरोहियाले सरकारको मिडिया मैत्री सम्बन्धी कुरा बोलीमा मात्र नभएर व्यवहारमा उतार्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

बधाई कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल र प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालसहितका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

shares