Breaking News

नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित

काठमाण्डौ, २७ साउन । लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले परित भएको हो । बैठकले राणाको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

राणा विसं २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी नेपालको प्रथम संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत भएका थिए ।

नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा साउन २५ गते हृदयाघातबाट निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २८ गते अपराह्न १ बजे बोलाइएको छ ।

shares