Breaking News

अधिनायकवादको कृत्रिम हल्ला गरी भ्रम फैलाउने कार्य भइरहेको छ: मन्त्री ज्ञवाली

भक्तपुर, २७ साउन । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका विरुद्ध तथाकथित अधिनायकवादको कृत्रिम हल्ला गरी भ्रम फैलाउने कार्य गरिरहेको बताएका छन् ।

आज रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताए । उनले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई समृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको भनाइ राखे ।

सरकारको काममा ढिलाइ भएको भन्दै गरिएको आलोचनालाई सरकारले सुझावको रूपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले भने–“अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस् सरकारका प्रभावकारी कामहरू, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रूपमा अगाडि बढ्छ ।”

प्रतिपक्षको रूपमा नेपाली काँग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने–“सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि विरोध गरेर चर्चामा आउन खोजेको छ ।” उनले काँग्रेसलाई विरोधभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

सरकारले प्रभावकारी रूपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै उनले भारतसंग विश्वासको आधार निर्माण गरिसकेको, चीनसंग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको उनको भनाइ थियो ।

समृद्धि नेपाल, सुखी नेपालको सरकारको अभियान सफल पार्न बाह्य सम्पर्क, सम्बन्ध असाध्यै राम्रो बनाएका छौं भन्दै उनले आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउने, र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरमा देशलाई ल्याउन दाताहरूको सहयोग समेत जुटाउने कामका लागि लागिपरेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन आफ्नो पहल भइरहेको बताउँदै अहिले परिपक्व, अनुकूल र राम्रो बाह्य सम्बन्ध विस्तार गरेको बताए ।

अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्दै प्रतिशोध साध्ने काम सरकारले नगरेको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले भने–“वर्तमान् सरकारले देउवा सरकारले गरेको नियुक्ति बदर गरेको होइन, देउवा सरकारले माओवादीका मन्त्रीहरूलार्इ बिना विभागीय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिता विरुद्ध निर्वाचनलाई नै पभावित पार्ने गरी गरेको नियुक्ति बदर गर्न खोजेको हो ।”

सरकारले गरेको बदरलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट उल्ट्याउने प्रयास गरेपनि अन्ततः अन्तिम फैसलामा सरकारको निर्णयलाई सर्वोच्चले सदर गर्नेमा सरकार विश्वस्त रहेको उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले थपे–“दोहोर कर जनताले तिर्नु पर्दैन, त्यस्तो कर छ भने सरकारले हटाउँछ, करको दायरामा नआएकालाई दायरामा ल्याउन खोज्दा कतिपय समस्या आउँछन्, यद्यपी दोहोरो करको बारेमा सरकारले रिपोर्ट संकलन गरिरहेको छ, त्यस्तो पाइएमा त्यस्ता कर हटाउँछ ।”

संविधानले नै प्रदेश र स्थानीय सरकारलाई पनि कर लगाउन अधिकार दिएको स्मरण गराउँदै उनले जनताले दोहोरो कर भने तिर्नु नपर्ने बताए ।

shares