Breaking News

मुलुकको विकास र समृद्धिका लागि युवाहरूको परिचालन अावश्यक: रक्षामन्त्री

काठमाण्डौ, २७ साउन । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि युवाहरूको परिचालन अावश्यक रहेको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकको समृद्धिका लागि युवाहरूलाई परिचालन गर्ने ठोस नीति, योजना र कार्यक्रम बनाउन पनि राष्ट्रिय युवा परिषदको गम्भीर ध्यानाकर्षण गराए । उनले मुलुकको विकास र समृद्धिका लागि जनदवाव सृजना गर्न युवाहरूलाई आह्वान गरे ।

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार राष्ट्रिय युवा परिषदले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई अघि बढाउन युवाहरूले सृजनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । मन्त्री पोखरेलले मुलुक समृद्ध भएमा मात्र नेपाली जनता सुखी हुने र सरकारले आगामी पाँच वर्षमा नेपाली विदेश पलायनको अवस्थालाई अधिकांश रूपमा रोक्ने समेत धारणा राखे ।

विकास र समृद्धिको अभियान सबैको लक्ष्य भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन सबैको सहयोग अावश्यक रहेको धारणा राखे । उपप्रधानमन्त्री पोखरेलले युवाहरूको उचित परिचालनबिना मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले कसैको असन्तुष्टिमा वर्तमान सरकार नढल्ने बताए । हिजोजस्तो ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्था नरहेको भन्दै वर्तमान सरकारलाई नेपाली जनताले दुई तिहाई मत दिएको बताए ।

कार्यक्रममा समाजमा उदाहरणीय काम गरेका युवाहरूलाई राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मान गरिएको थियो । नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट १२ का दिन विश्वभर युवा दिवस मनाउने गरिएको छ । विश्वमा अहिले १० देखि २४ वर्ष उमेरका एक अर्ब ८० करोड मानिस छन् । अहिले नेपालमा युवाको जनसङ्ख्या सबैभन्दा बढी ४० दशमलव ३५ प्रतिशत छ ।

shares