Breaking News

चार दिनसम्म साँझमा उद्योगहरूमा लोडसेडिङ हुने

काठमाण्डौ, २७ साउन । आगामी चार दिनसम्म साँझको समयमा उद्योगहरूमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

भारतबाट आउने एक सय मेगावाट बिजुलीको प्रशारण लाइनमा क्षमता विस्तारको काम भइरहेको हुँदा प्रसारण अवरुद्ध हुने भएकोले उद्योगमा लोडसेडिङ हुने विद्युत प्राधिकरणले जनाएको छ ।

ढल्केबर–मुजफ्फरपुरसम्मको प्रशारण लाइनको क्षमता विस्तार हुने भएकोले सोमबार बिहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने कारण चारदिनसम्म साँझमा लोडसेडिङ गरिने विद्युत प्राधिकरणले जनाएको हो । तर सर्वसाधारणको भने प्रशारण नकाट्ने जनाइएको छ ।

धनुषामा निर्माण गरिएको २२० केभीको ढल्केबर सबस्टेशनको स्तरोन्नती गर्न लागिएको हो । हाल उक्त सब स्टेशनको १३२ केभी मात्र सञ्चालन क्षमता रहेको छ। उक्त सबस्टेशनको स्तरोन्नती गरिएसँगै भारतबाट आयात गर्ने बिजुली एक सय ५० मेगावाटसम्म बढाउन सकिने विद्युत प्राधिकरणले जनाएको छ ।

अहिले २२० केभीमा स्तरोन्नति हुने ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन आगामी वर्षसम्म ४०० मेगावाट क्षमतामा विस्तार हुँदैछ । ४ सय मेगावाटमा प्रसारणलाइन स्तरोन्नति भएपछि १ हजार मेगावाट बजिुली आयात-निर्यात गर्न सकिने छ । नेपालले भारतबाट अहिले ५ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । वर्षायाममा यस्तो आयात दर घट्छ ।

shares