Breaking News

सरकारले चालेको कदममाथि शंका नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकारले चालेको कदममाथि शंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा प्रदेश ५ का सांसदहरूसंग छलफल गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धि र विकासको बाटोमा अघि बढेको भन्दै सरकारको काममा शंका नगर्न आग्रह गरेका हुन् । उनले सरकारको कार्यक्रमलाई सफल कार्यान्वयनका लागि गम्भीर भएर लाग्न पनि निर्देशन दिए ।

छलफलमा प्रदेश ५ का सांसदहरूले विकासको काममा रहेका व्यवस्थापकीय कमजोरीलाई ध्यानमा राख्दै काम गर्न आग्रह गरेका थिए । त्यस्तै उनीहरूले जनताको जनजीवनमा जोडिएका विषयलाई सम्बोधन गर्न सुझाव पनि दिएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सरकारले गति लिने कुरामा आश्वस्त पार्दै विषम परिस्थितिका बाबजुद जनताको आकांक्षा अनुरुप काम हुन नसकेको बताउनुभएको छलफलमा सहभागी नेकपा नेता सोम प्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै दाङ क्षेत्र नंबर १ का प्रदेशसभा सांसद मेटमणि चौधरीले अहिलेको अवस्थामा सरकारको कामबाट खुसी र उत्साहित नभएको भन्दै आफ्नो प्रदेशमा सुकुम्वासी, दलित भूमिहीनको समस्यालाई सम्बोधन गर्न सुझाव दिएको बताए ।

छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय विकास निर्माण, समस्याका बारेमा पनि चासो व्यक्त गरेका थिए । हरेक शुक्रबार विभिन्न प्रदेशका सांसदहरूसंग छलफल गर्ने कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार प्रदेश ५ का सांसदहरूसंग छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीले यसअघि प्रदेश २, ३ र गण्डकी प्रदेशबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिसकेका छन् ।

shares