Breaking News

दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

काठमाण्डौ, २५ साउन । आसन्न १८औं एसियन गेम्स् र साफ च्याम्पियनसिपको तयारीका क्रममा थाइल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

थाम्मासत युनिभर्सिटी मैदानमा आज सम्पन्न दोस्रो खेलमा नेपाल २३ वर्ष मुनिको थाइल्याण्ड राष्ट्रिय टोलीसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल थाई प्रिमियर लिग क्लब पुलिस तेरो फुटबल क्लबको बी टिमसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

यो खेलसँगै नेपाली टोलीले थाइल्याण्डको प्रशिक्षण सकेको छ । अब एसियन गेम्स खेल्ने २३ वर्षमुनिको नेपाली टोली त्यहींबाट इन्डोनेसिया जानेछ । एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि १० दिने विशेष प्रशिक्षण गर्न नेपाली टोली थाइल्याण्ड गएको हो । एसियन गेम्स्को समूह ‘डी’मा रहेको नेपालले लिग चरणमा तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी जापान, भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

एसियन गेम्स् भदौ २ गते औपचारिक रूपमा सुरु हुने भएपनि फुटबल भने केही दिन अघिबाट सुरु हुनेछ । त्यस्तै, यही भदौ १९ देखि ३० गतेसम्म बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूह ए मा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् भने भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा छन् ।

shares