Breaking News

विधायन व्यवस्थापन समितिको कार्यविधि २०७५ परिमार्जनसहित पारित

काठमाण्डौ, २५  साउन । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको कार्यविधि २०७५ परिमार्जनसहित पारित भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा समिति सदस्यहरू राखेका धारणासहित कार्यविधि पारित भएको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४७ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिम्मेवारी सुव्यवस्थित ढंगले सञ्चालन गर्न कार्यविधि बनाइएको शिवाकोटीले बताए । २३ बुँदा रहेको कार्यविधिमा केही समस्या देखिए पुनः समितिमा छलफल गराइने शिवाकोटीले जानकारी दिए ।

यसअघि कार्यविधिमाथिको छलफलमा भाग लिंदै समितिका सदस्यहरूले ऐनको प्रभावकारी कार्यान्वयन हुने गरी काम गर्ने व्यवस्था कार्यविधिमै उल्लेख गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । समितिको कार्य क्षेत्र भित्र राष्ट्रियसभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन, अनुसन्धान सम्बन्धी विषय पर्दछन् ।

shares