Breaking News

घोषित न्यूनतम तलबमानको विरोधमा ट्रेड युनियनले अान्दोलन गर्ने

काठमाण्डौ, २५ साउन । विभिन्न १४ वटा ट्रेड युनियन महासंघहरूले श्रमिकहरूको न्यूनतम तलब/ज्याला निर्धारण गर्दा सरकारद्वारा अवलम्बन गरिएको विधि, पद्धतिको विरोध गर्दै आन्दोलन गर्ने भएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त ट्रेड युनियन संर्घष समितिले सरकारद्वारा घोषित तलबमान श्रमिकहरूको वर्तमान आवश्यकता र श्रममा योगदानका हिसाबले समेत त्रुटिपूर्ण र अमान्य रहेकोले त्यसका विरुद्ध संघर्ष गर्ने जनाएको हो । उनीहरुले न्यूनतम पारिश्रमिक रु २२ हजार तोक्न माग गर्दै वृद्धि रकम सबै तह क्षेत्र र श्रमिकहरूका लागि लागू गर्नुपर्ने जनाएका छन् ।

श्रमिकहरूको पञ्जीकरण गर्ने व्यवस्था गर्नुपर्ने, रोजगारी र सुरक्षाको व्यवस्था गर्नुपर्ने जनाएका छन् । पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष इन्द्र देव मिश्रले १३ हजार चार सय ५० रुपैयाँ वृद्धिले श्रमिकहरूको अपमान गरिएको बताए । उनले कामदारले विरोध गर्न पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्दै सरकारले श्रमिक विरोधी ऐन ल्याएको आरोप लगाए ।

समितिले आफ्नो माग पूरा गर्नका लागि दबाब दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने जनाएको छ । संघर्ष समितिले सामाजिक सुरक्षा कोषको रकम सहमति भएको मितिदेखि नै दाखिला गर्न पनि माग गरेको छ ।

shares