Breaking News

पर्यटन प्रवर्द्धनका लागि अभियान संचालन गरिने

विजय रार्इ/धनकुटा, २५ साउन । धनकुटामा पर्यटन प्रवर्द्धन गर्नका लागि धनकुटा पर्यटन विकास समितिले अभियान संचालन गर्ने निर्णय गरेको छ ।

पर्यटन विकास समिति धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा आज सम्पन्न भएको बैठकले धनकुटाको थप पर्यटन क्षेत्रहरूको खोजी गरी पर्यटन क्षेत्रहरूको सम्वर्द्धन र प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।

पर्यटन प्रवर्द्धनका लागि स्वदेश तथा विदेशमा धनकुटाका पर्यटकीय क्षेत्रहरूको विभिन्न माध्यमहरूबाट प्रचार प्रसार गरी पर्यटकको स्वागत तथा सत्कार गर्ने त्यसका लागि विभिन्न क्षेत्रहरुमा साझेदारी अभियान संचालन गर्ने जनाएको छ ।

धनकुटाको भेडेटार, पाख्रिबास, वसन्तपुर लगायतका क्षेत्रहरूमा समेत अभियान संचालन गर्ने निर्णय गरेको छ । सो बैठकमा यस वर्षका लागि पर्यटन प्रवर्द्धनका लागि पर्यटन मेला तथा उत्सवहरू र घुम्ती पर्यटन प्रचार प्रसार अभियान विभिन्न स्थानहरूमा संचालन गर्ने कार्यक्रमहरू समितिका सचिव प्रमिला चेम्जोङ्गले प्रस्तुत गरेका थिए ।

धनकुटालाई पर्यटन उद्योगमार्फत समृद्ध धनकुटा बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट सक्रिय योगदान दिन समेत आव्हान गरिएको समितिका सदस्य नविन राईले जानकारी दिए ।

shares