Breaking News

नेपाल र बंगलादेशबीच ऊर्जा सम्झौता सम्पन्न

काठमाण्डौ, २५ साउन । नेपाल र बंगलादेशबीच ऊर्जा सम्झौता भएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन् ।

अब बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नुका साथै नेपालको बिजुली समेत किन्ने भएको छ ।  समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश गरिएका छन् । समझदारीपछि बंगलादेशले नेपालबाट पाँच सय मेगावाट बिजुली आयात गर्नेछ ।

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनमा ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यो बेला बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई ठूला आयोजनामा लगानी गर्ने उल्लेख थियो । त्यो बेला भएको सहमति बमोजिम एक हजार एक सय १० मेगावाट क्षमताको सुनकोशी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रोमा बंगलादेशले लगानी गर्ने जनाइएको छ ।

नेपालसंग ऊर्जा समाझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनबीच पनि यस्तै ऊर्जा सहकार्य सम्बन्धी सम्झौताहरू भइसकेको छ । अहिले बंगलादेशले आफूलाई अपुग विद्युत् भारतसँग पनि खरिद गर्दै आएको छ । विद्युतको माग र आपूर्तिबीचको असन्तुलन बंगलादेशको समस्या रहँदै आएको छ । तथ्यांकअनुसार सन् २०१६ सम्ममा बंगलादेशका कुल परिवारमध्ये ७६ प्रतिशतकहाँ मात्रै विद्युत् सुविधा पुगेको छ भने यसलाई सन् २०२१ सम्ममा ९८ प्रतिशत पुर्‍याउने लक्ष्य बंगलादेश सरकारको छ ।

shares