Breaking News

गणेश लामा दोषी ठहर, १ वर्ष कैद र १ करोड जरिवाना

काठमाण्डौ, २४ साउन । गुन्डा नाइके गणेश लामालार्इ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार विशेष अदालतले एक वर्ष कैद र एक करोड बिगो तिराउने फैसला सुनाएको छ ।

मुद्दा दर्ता भएको ५ वर्षपछि अदालतले उक्त सँजायको फैसला सुनाएको हो । लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको अदालतका रजिष्टार नारायण पोखरेलले बताए ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको हो ।

लामाले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । विभागले लामाले अवैध तरिकाले २७ करोड एक लाख रुपैयाँ सम्पत्ति जोडेको आरोप लगाएको थियो।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो । उनी हाल केन्द्रीय कारागारमा छन् । उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो ।

shares