Breaking News

अधिकारविहीन उपप्रमुख राख्नुभन्दा खारेज गर्नु उत्तम: हरिप्रभा खड्गी

काठमाण्डौ, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गीले उपमेयरलाई अधिकार नदिइएको भन्दै देशैभरिका उप–प्रमुखहरूलाई समेटेर संघर्ष समिति बनाउने चेतावनी दिएकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रमुख खड्गीले देशैभरिका उपप्रमुखहरूलाई अधिकारविहीन बनाइएको भन्दै अब अधिकार प्राप्तिको लागि आफ्नो नेतृत्वमा संघर्ष समिति बनाउने बताइन् । उनले अधिकारविहीन उपप्रमुख राख्नुभन्दा खारेज गर्नु उत्तम हुने सुझाव दिइन् ।

संविधानले उपमेयरलाई विभिन्न ८ वटा अधिकार दिएको उल्लेख गर्दै आफूले ७ वटा अधिकार ईमानदारपूर्वक उपयोग गरेको बताइन् । उपप्रमुख खड्गीले मेयरले चाहने हो भने काठमाडौंका खाल्डाखुल्डीहरू पुरिने समेत जिकिर गरिन् ।

समग्र काठमाडौंको विकासको लागि पञ्च वर्षीय गुरुयोजना आवश्यक रहेको पनि उनले बताइन् । उनले काठमाडौंको फोहोर व्यवस्थापनको लागि आफूहरूले नयाँ वैकल्पिक स्थानको समेत पहिचान गरिसकेको पनि दाबी गरिन् ।

स्थानीय जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले आफूहरू जनभावना अनुसार नै काम गर्न निरन्तर सक्रिय रहेको जिकिर गरिन् । फरक प्रसंगमा उनले स्वीकृति नलिई नक्शा पासविपरीत निर्माणाधीन अवस्थामा रहेका घरहरूको निर्माण कार्य सम्पन्न गर्नको लागि भर्खरै नगर परिषदको निर्णयले फुकुवा गरेको पनि जनाइन् ।

shares