Breaking News

महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार विरुद्ध सामूहिक प्रयास आवश्यक: मन्त्री थापा

काठमाण्डौ, २४ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक समानता नीति २०७५ को मस्यौदा तयार भइरहेको जानकारी दिएकी छिन् ।

सिंहदरबारमा बिहीबार बसेको महिला तथा सामाजिक समितिको बैठकमा उनले बालबालिकासम्बन्धी ऐन २०४८ लाई प्रतिस्थापना गर्ने नयाँ ऐनको मस्यौदा पनि तयार भएको जानकारी दिइन् ।

उनले वीरगञ्ज, रुपन्देही र चितवनमा आगामी भदौ १ गतेदेखि बालसुधार गृह स्थापना गर्न स्वीकृति दिएको बताइन् भने काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियान जारी रहेको र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न बालसंरक्षणका कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन् ।

महिला तथा बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहारमा कमी ल्याउन सामूहिक प्रयासको आवश्यकता पर्ने उनको भनाइ छ । मन्त्रालयका कानूनी, संस्थागत तथा कार्यक्रमगत सुधार गर्ने कार्य जारी रहेको उनले समितिको बैठकमा जानकारी दिइन् ।

समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चालू आर्थिक वर्षका कार्यक्रमका बारेमा जानकारी लिएको हो ।

shares