Breaking News

सार्वजनिक सुरक्षा ऐन २०७५ संशोधनसहित पारित

काठमाण्डौ, २४ साउन । संसदीय समितिले सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई पारित गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकले सार्वजनिक ऐन, २०४६ लाई संशोधन गर्न बनेको सार्वजनिक सुरक्षा ऐन २०७५ लाई संशोधनसहित पारित गरेको हो । उक्त विधेयकमा सांसद संजयकुमार गौतमले राखेका संसोधन, छलफलपछि विधेयकमा नै समावेश गरिएको छ ।

विधेयकमाथि छलफल गर्न समितिले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव र कानूनसचिवलाई समितिमा बोलाएको थियो । बैठकमा गृहमन्त्री थापाले काठमाडौंको काँडाघारीमा बालकको अपहरणपछि हत्या र अपहरणकारीको इन्काउण्टरबारे सरकारले छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी गराएका थिए ।

त्यस्तै मन्त्री थापाले सीमा क्षेत्रमा भारतले अनाधिकृत रूपले बाँध निर्माण गरिरहेको विषयमा पनि सरकारले छिट्टै धारणा सार्वजनिक गर्ने जानकारी गराए । बैठकमा समिति सदस्यहरूले काँडाघारीमा भएको बालक हत्या बारेमा गृहमन्त्रीसंग प्रश्न गरेका थिए ।

shares