Breaking News

विश्व बैंकद्वारा नेपाललाई थप १० करोड डलर ऋण सहयोग स्वीकृत

काठमाण्डौ, २४ साउन । विश्व बैंकले नेपाललाई वित्तीय क्षेत्र स्थायित्व र विकासका लागि अर्को १० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।

सन् २०१३ मा सुरु भएको वित्तीय क्षेत्रको स्थायित्व विकास नीति क्रेडिट (डीपीसी) लाई निरन्तरता दिँदै बैंकको बोर्डले फेरि उक्त सहयोग स्वीकृत गरेको हो । विश्व बैंकले नेपालका लागि तयार गरेको पाँचवर्षे सहायता साझेदारी रणनीति सम्बन्धी दस्तावेजका बारेमा वासिङटन डीसीमा छलफल भइरहेको बेला यो सहयोग स्वीकृत गरिएको हो ।

नेपालमा बैंकका ऋणीहरू उच्च ब्याजदरको मारमा परेका बेला विश्व बैंकले यो सहयोग घोषणा गरेको हो । राष्ट्र बैंक क्षमता बृद्धि, सरकारी बैंकको सुधारका लागि नेपालले यस्तो दुई दशक यता पटक पटक लिइसकेको छ ।

अर्थमन्त्री खतिवडाले वासिंटनस्थित बैंकको मूख्य कार्यालयमा बैंकका बोर्ड सदस्यहरूसंगको छलफलमा नेपाल नयाँ राजनीतिक अभ्यासको क्रममा रहेकाले थप स्रोत आवश्यक रहेको बताएका थिए ।

संघीय सरकार र स्थानीय सरकार बनिसकेको अवस्थामा उनीहरूलाई परिचालन गरी विकास निर्माण कार्यक्रम अगाडि लैजाने धारणा अर्थमन्त्रीको थियो । छलफलमा विश्व बैंकका पदाधिकारीहरूले स्थानीय निकायको सक्षमताका बारेमा चासो देखाएका थिए ।

shares