Breaking News

बैंक र व्यवसायीहरूले आफू अनुकूल कुरा मात्रै गर्ने गरेको गभर्नर नेपालको आरोप

काठमाण्डौ, २४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले बैंक र व्यवसायीहरूले समयअनुसार आफू अनुकूल कुरा मात्रै गर्ने गरेको आरोप लगाएका छन् ।

बैंकर्स एसोसियसन र आर्थिक पत्रकार समाज सेजनले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले पछिल्लो साढे २ वर्षको अवधिमा वित्तीय क्षेत्रले तरलताको संकट र फालाफालको दुवै अवस्था व्यहोरेको भन्दै नेपालले व्यवसायी र बैंकर दुवैले परिस्थिति अनुकूल कुरा मात्रै गरिरहेको बताएका हुन् ।

बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरेपनि व्यवसायीले नलगेको उनले बताए । उनले अहिले आएर अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गरिरहेको बताए । नेपालले वित्तीय क्षेत्रमा राम्रो पढेका व्यक्तिहरू कार्यरत रहेकाले संस्थागत निक्षेपमा लुछाचुँडी नगर्न पनि आग्रह गरे।

गभर्नर नेपालले वित्तीय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफ्टको प्रतिशत घटाइएको भएपनि व्यावसायिक ओभर ड्राफ्टमा भने कमी नआएको स्पष्ट पारे । उनले आफ्नो दक्षता र क्षमताअनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तीय क्षेत्रलाई सचेत गराए ।

shares